
काठमाडाैं । पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै राज्यका विभिन्न क्षेत्रमा हिंसात्मक झडप भड्किएको छ। सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताबीच भएका भिडन्तमा पछिल्लो २४ घण्टामा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
भाजपाले १५ वर्षपछि ममता बनर्जी नेतृत्वको सरकारलाई पराजित गर्दै बहुमत प्राप्त गरेसँगै राज्यभर राजनीतिक तनाव तीव्र बनेको हो। नतिजापछि दुवै दलका समर्थकबीच ‘प्रतिशोधको राजनीति’ सुरु भएको आरोप लागेको छ।
हिंसाका घटनामा कोलकाताको बेलेघाटामा टीएमसीका एजेन्ट विश्वजित पट्टनायकको हत्या भएको छ। परिवारका अनुसार उनलाई घरबाट निकालेर कुटपिटपछि हत्या गरिएको हो। न्यु टाउन क्षेत्रमा भएको झडपमा भाजपा कार्यकर्ता मधु मण्डलको मृत्यु भएको छ भने हाउडाको उदयनारायणपुरमा यादव बारको भीडद्वारा हत्या गरिएको दाबी गरिएको छ। यस्तै, वीरभूमको नानुरमा टीएमसी कार्यकर्ता अविर शेखको धारिलो हतियार प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ।
निर्वाचन परिणामपछि विभिन्न स्थानमा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनीका घटना पनि भएका छन्। कोलकाताका टोलीगञ्ज, कसबा र भवानीपुर क्षेत्रमा कार्यालयहरूमा आगजनी भएको र झण्डा फेर्ने घटनासमेत देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
विश्लेषकहरूका अनुसार सत्ता परिवर्तनपछि दुवै पक्षमा बढेको आक्रोश, विगतका चुनावी हिंसाको प्रतिशोध र मतदाता नामावलीसम्बन्धी विवादले स्थिति थप बिग्रिएको हो।
निर्वाचन आयोगले घटनाप्रति गम्भीर ध्यान दिँदै राज्य प्रशासनलाई कडा कदम चाल्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा केन्द्रीय सुरक्षा बल परिचालन गरिएको छ।
नयाँ सरकारको शपथ ग्रहण मे ९ का लागि तय भए पनि त्यसअघि नै राज्यको राजनीतिक अवस्था तनावग्रस्त बनेपछि सुरक्षा चुनौती थपिएको देखिएको छ।










Facebook Comments