काठमाडाैं । विश्व अहिले कोभिड महामारीपछिको अवस्थाभन्दा पनि गम्भीर खाद्य संकटतर्फ उन्मुख भइरहेको चेतावनी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले दिएको छ।

रोमस्थित मुख्यालयबाट जारी विज्ञप्तिमा समयमै नियन्त्रण नभए र जलवायु प्रभाव थपिए विश्वमा ‘परफेक्ट स्टर्म’ जस्तो अवस्था सिर्जना हुनसक्ने उल्लेख गरिएको छ। यस्तो अवस्था महामारीपछिको अवस्थाभन्दा पनि बढी गम्भीर हुनसक्ने एफएओको निष्कर्ष छ।

ad

एफएओका अनुसार होर्मुज जलमार्गमा जारी तनावका कारण विश्वको करिब २० देखि ४५ प्रतिशत महत्वपूर्ण कृषि सामग्रीको ढुवानी प्रभावित हुनसक्छ। यसले खाद्य आपूर्ति र मूल्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिइएको छ।

संस्थाले किसानहरू पहिले नै न्यून नाफामा खेती गरिरहेको र लागत बढ्दै गएपछि उनीहरू खेती छोड्न वा घाटामा जान बाध्य हुनसक्ने जनाएको छ। यसले दीर्घकालीन रूपमा विश्व खाद्य आपूर्ति कमजोर बनाउने जोखिम रहेको उल्लेख छ।

एफएओका अनुसार मार्चसम्म खाद्य मूल्य तुलनात्मक रूपमा स्थिर रहे पनि अप्रिलदेखि दबाब बढ्न थालेको छ र मे महिनामा अझ बढ्न सक्ने संकेत देखिएको छ। मल, ऊर्जा र उत्पादन लागतबीचको सम्बन्धले आगामी उत्पादनमा ठूलो प्रभाव पार्ने देखिएको छ।

तेलको मूल्य बढेमा किसानहरूले खाद्य बालीको सट्टा जैविक इन्धनका लागि प्रयोग हुने बाली लगाउन सक्ने सम्भावना रहेकाले खाद्य आपूर्ति अझै घट्न सक्ने खतरा पनि औंल्याइएको छ।

संस्थाले बायोफ्युलसम्बन्धी नीतिहरू पुनर्विचार गर्न, ऊर्जा तथा मल निर्यातमा प्रतिबन्ध नलगाउन र जोखिममा परेका देशलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका वित्तीय संयन्त्र प्रयोग गरी संकट व्यवस्थापन गर्न सकिने सुझाव पनि एफएओले दिएको छ।

विशेषज्ञहरूले मल र ऊर्जा बजार अत्यन्त संवेदनशील भएकाले आपूर्तिमा सानो अवरोधले पनि मूल्यमा ठूलो वृद्धि ल्याउन सक्ने चेतावनी दिएका छन्। ढुवानी प्रणाली छिटो सामान्य अवस्थामा नफर्किए विश्व खाद्य बजारमा गम्भीर असर पर्ने देखिएको छ।