
काठमाडौं । अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल विवादका कारण रोकिएका मालवस्तु अब छुट्ने भएका छन्। भन्सार विभागले आयातकर्ताको ‘स्वघोषणा र प्रतिबद्धता’लाई आधार मान्दै अवरुद्ध जाँचपास प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेको हो।
विगत नौ दिनदेखि देशभरका विभिन्न भन्सार नाकामा सयौँ मालवाहक ट्रक रोकिँदा आपूर्ति प्रणाली प्रभावित भएको थियो। अब नयाँ व्यवस्थाअनुसार एमआरपी लेबल नभएका वस्तुका हकमा आयातकर्ताले भन्सारमै मूल्य स्वघोषणा गर्नुपर्नेछ र प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपछि मात्र सामान छुट्नेछ।
विभागका अनुसार आयातकर्ताले वस्तुको नाम, ब्रान्ड, मोडल, परिमाण, विजक मूल्य र प्रस्तावित एमआरपी खुलाउनुपर्नेछ। साथै, बजारमा बिक्रीअघि अनिवार्य रूपमा एमआरपी लेबल टाँस्ने र नियम उल्लंघन गरे कानुनी कारबाही भोग्ने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले वैशाख १५ देखि एमआरपी बिना आयातमा कडाइ गरेपछि समस्या उत्पन्न भएको थियो। यसअघि समाधान खोज्ने प्रयास भए पनि सहमति जुट्न नसक्दा अवस्था जटिल बनेको थियो।
नयाँ निर्णयसँगै जाँचपास प्रक्रिया पुनः सुचारु हुने र बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।










Facebook Comments