
काठमाडौं । व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थुनामुक्त गर्न गरिएको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बुधबार भएको सुनुवाइपछि अदालतले दुवैको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिहाइको आधार पर्याप्त नभएको ठहर गर्दै रिट खारेज गर्ने निर्णय गरेको अदालत स्रोतले जनाएको छ। यसअघि अदालतले लिखित जवाफसहित दुवैलाई उपस्थित गराउन आदेश दिएको थियो।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार थुनामुक्त गर्नुपर्ने माग इजलासबाट स्वीकार गरिएन। अब उनीहरूविरुद्धको अनुसन्धान प्रक्रिया यथावत् अघि बढ्नेछ।
दीपक भट्टलाई शंकास्पद आर्थिक कारोबारमार्फत अवैध सम्पत्ति आर्जन गरेको आरोपमा चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई काठमाडौं जिल्ला अदालतको अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
यस्तै, सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा चैत २२ गते पक्राउ परेका हुन्। उनीमाथि पनि सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
दुवै व्यवसायीलाई थप अनुसन्धानका लागि अदालतबाट जनही १२ दिन म्याद थप गरिएको छ।










Facebook Comments