
काठमाडाैं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको मागसहित एक महिना अघि सुरु भएको हस्ताक्षर सङ्कलन अभियान अहिलेका लागि रोकिएको छ। पार्टीभित्रकै नेताहरूका अनुसार औपचारिक छलफलको आश्वासनपछि अभियानलाई स्थगित गरिएको हो।
संसदीय निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन बोलाउन दबाब दिन भन्दै भातृसंस्थासम्बद्ध नेताहरूले हस्ताक्षर अभियान थालेका थिए। तर संस्थापन पक्षले त्यसलाई असमयको कदम भन्दै आलोचना गरेको थियो।
कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ सहितका पदाधिकारीहरूले अभियानमा सक्रिय नेताहरूसँग छलफल गरेपछि प्रक्रियागत रूपमा विषय अगाडि बढाउने सहमति भएको जनाइएको छ। अभियानमा सहभागी नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाका अनुसार अब निर्णयका लागि औपचारिक कमिटी प्रक्रियाकै प्रतीक्षा भइरहेको छ।
एमाले विधानअनुसार दुईतिहाइ जिल्ला कमिटी वा महाधिवेशन प्रतिनिधि परिषद्का बहुमत सदस्यले माग गरे विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ। तर नेतृत्व परिवर्तनबारे पार्टीभित्र औपचारिक निर्णय प्रक्रियामा अझै प्रवेश नभएको नेताहरू बताउँछन्।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टी पुनर्गठनको आवश्यकता स्वीकार गर्दै पनि तत्काल नेतृत्व परिवर्तनबारे कुनै औपचारिक एजेन्डा तय नभएको स्पष्ट पारे। उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र समग्र परिस्थितिका कारण बैठक बस्न ढिलाइ भएको हो।
पछिल्ला घटनाक्रमले भने पार्टीभित्र असन्तुष्टि विस्तारै सतहमा आउन थालेको संकेत दिएका छन्। पहिले नेतृत्वको पक्षमा उभिएका केही प्रभावशाली नेताहरू पनि अहिले सुधार र पुनर्गठनको आवश्यकता औंल्याउन थालेका छन्।
पार्टीको आगामी बैठकले निर्वाचन परिणामसहित पछिल्लो दशकको समग्र समीक्षा गर्ने र संगठन, नेतृत्व तथा कार्यशैलीमा आवश्यक परिवर्तनबारे छलफल गर्ने अपेक्षा गरिएको छ। नेतृत्व परिवर्तनको विषय औपचारिक रूपमा उठेमा त्यसले पार्टीभित्र थप राजनीतिक तरंग ल्याउने देखिन्छ।










Facebook Comments