
झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले घर–टहरा भत्काउने कार्यको विरोध गर्दै आन्दोलन सुरु गरेका छन्। बुधबारदेखि प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै तत्काल डोजर प्रयोग रोक्न माग गरेका हुन्।
वर्षौंदेखि बस्दै आएको स्थानबाट हटाउन नपाइने अडान राख्दै आन्दोलनकारीहरूले धनीपुर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनीहरूले देशभर सुकुम्बासी बस्तीमा भइरहेको ‘डोजर आतंक’ले नागरिकको आवासको हकमा आघात पुगेको भन्दै चेतावनी दिएका छन्।
भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समितिले बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै घर भत्काउने कार्य तत्काल रोक्न, वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन र भू–माफियामाथि कारबाही गर्न माग गरेको छ।
उनीहरूले डोजर प्रयोगका क्रममा ज्यान गुमाएकालाई शहिद घोषणा गर्न र प्रभावित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग पनि अघि सारेका छन्। नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईंलाई बुझाइएको ज्ञापनपत्रमा यस्तो अभियानले सुकुम्बासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख छ।
संघर्ष समितिले संविधानले प्रत्याभूत गरेको आवासको हक र अदालतका निर्देशिकालाई स्मरण गराउँदै वैकल्पिक व्यवस्था बिना उठिबास गरिनु अमानवीय भएको जिकिर गरेको छ।










Facebook Comments