काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदाप्रति गम्भीर असन्तुष्टि जनाउँदै संशोधनको माग गरेको छ।

बैठकले मस्यौदाका केही प्रावधान संविधानको मर्मविपरीत र विधिशास्त्रीय दृष्टिले समेत त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै ती बुँदाहरू तत्काल सच्चाउनुपर्ने धारणा अघि सारेको हो।

ad

कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार सुशासन र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले राखिएका सकारात्मक प्रावधानलाई समर्थन गरिनेछ। तर, संविधानको भावनाविपरीत देखिएका व्यवस्था भने स्वीकार्य नहुने र त्यसविरुद्ध संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरिएको छ।

बैठकले सरकारले विधायिकी अधिकारमाथि हस्तक्षेप गरेको र संसदीय अभ्यासलाई कमजोर पार्ने प्रयास गरेको आरोप समेत लगाएको छ।

यसैबीच, कांग्रेसले वास्तविक सुकुम्बासीको पहिचान, सम्मानजनक स्थानान्तरण र व्यवस्थित पुनर्स्थापनाका लागि पनि सदनमा प्रभावकारी ढंगले आवाज उठाउने निर्णय गरेको जनाएको छ।