काठमाडाैं । कक्षा १२ को वार्षिक परीक्षामा व्यापक अनियमितता भएको गम्भीर आशंका उठेपछि मोरङमा सुरक्षा निकाय र परीक्षा बोर्डले कडाइ बढाएका छन्। 

विराटनगर र सुनसरीका केही चबहर्चित निजी कलेजहरूले आफ्ना विद्यार्थी पास गराउन परीक्षा केन्द्रमै ‘सेटिङ’ मिलाएको आरोप लागेपछि प्रहरीले गोप्य अनुसन्धान अघि बढाएको हो।

ad

अनुगमनका क्रममा योजनाबद्ध रूपमा चिट चोराउने गतिविधि भएको संकेत पाएपछि अनुसन्धान थप सघन बनाइएको छ। यसैबीच, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ। चित्तबुझ्दो जवाफ नआए वा फेरि गल्ती दोहोरिए तत्काल बर्खास्त गर्ने चेतावनी दिइएको छ।

बरामद भएका चिटहरू सामान्य विद्यार्थीले बनाएको भन्दा फरक, पेशेवर ढंगले तयार पारिएको देखिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार ती चिटहरू कम्प्युटरमार्फत अत्यन्त सानो आकारमा प्रिन्ट गरिएको र जिल्लाभर एउटै शैलीमा भेटिएकोले संगठित गिरोहको संलग्नता हुनसक्ने संकेत मिलेको छ।

सुरक्षा निकायले केही केन्द्राध्यक्षले निजी कलेजसँग आर्थिक लेनदेन गरेर विद्यार्थीलाई चिट प्रयोग गर्न छुट दिएको हुनसक्ने आशंका पनि गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका निर्देशक प्रकाशकुमार खरेलले मोरङका १४ सहित सुनसरीका केही केन्द्रमा अत्यधिक अनियमितता फेला परेको बताए। आकस्मिक निरीक्षणका क्रममा निरीक्षककै संरक्षणमा चिट चोराउने गतिविधि भएको पुष्टि भएको उनले जानकारी दिए।

हालसम्म केही केन्द्राध्यक्षले गल्ती स्वीकार गर्दै पुन: नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्। बाँकी विषयका परीक्षा पूर्ण रूपमा मर्यादित बनाउन बोर्डले निगरानी थप कडा बनाउने जनाएको छ।

घटनामा आर्थिक लेनदेन भएको पुष्टि भएमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसम्म छानबिन लैजाने तयारी गरिएको छ। कोशी प्रदेशका १० जिल्लामा सञ्चालन भइरहेको परीक्षामा ६० हजारभन्दा बढी विद्यार्थी सहभागी छन् भने हालसम्म २४ विद्यालयमा अनुगमन सम्पन्न भइसकेको छ।