काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै भएको भनिएको संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालत का न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार भएको सुनुवाइपछि उक्त आदेश दिएको हो। अदालतले मुद्दासँग सम्बन्धित सबै प्रमाण मिसिल झिकाएर थप अध्ययन अघि बढाउने निर्णय गरेको बताइएको छ।

ad

यो प्रकरणमा नक्कली कागजात तयार गरी संगठित गिरोहमार्फत नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गर्ने र अमेरिका पठाउने प्रयास भएको आरोप छ। मुद्दामा कीर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधसमेत गरी विभिन्न पाँच शीर्षकमा अभियोग दायर गरिएको छ।

२०८० जेठ १० गते दायर भएको मुद्दामा पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा तथा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, बिचौलिया समूहका केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा लगायतका व्यक्तिहरू पनि मुद्दामा प्रतिवादी छन्। उनीहरूविरुद्ध संगठित रूपमा मानव तस्करी शैलीको अपराध गरिएको आरोप लगाइएको छ।

झण्डै तीन वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब प्रमाण अध्ययन चरणमा प्रवेश गरेको अदालत स्रोतले जनाएको छ। प्रमाण मिसिल झिकाइएपछि आगामी सुनुवाइमा थप तथ्यगत मूल्याङ्कन हुने अपेक्षा गरिएको छ।