काठमाडाैं । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा ३५ हजार ९५४, मंसिरमा १४ हजार ९४१, पुसमा २९ हजार ९८०, माघमा १६ हजार ६१२ र फागुनमा २९ हजार ८१२ पर्यटक भित्रिएका हुन् । गत नौ महिनामा भित्रिएका कुल पर्यटकमध्ये एक लाख ५१ हजार ६८ जना दक्षिण एसियाली मुलुकका र बाँकी अन्य मुलुकका रहेका आयोजना कार्यालयका प्रमुख डा रविन कडरियाले बताए ।

ad

असोजबाहेक सबै महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक बढेको उनको भनाइ छ । 'आव २०८१/८२ को चैतमा जम्मा ४४ हजार ९७७ पर्यटक आएका थिए, चालु आवको चैतमा उक्त संख्या बढेर ६५ हजार २४२ पुगेको छ', प्रमुख डा कडरियाले भने, 'आव २०७९/८० देखि नै पर्यटक आगमनको दर बढ्दै आएको छ, अन्य देशको तुलनामा भारतीय पर्यटकको संख्या धेरै छ ।'

जाडो र वर्षातको याममा पर्यटक आगमन घटे पनि मुख्य पर्यटकीययाम असोज–कात्तिक र चैत–वैशाखमा पर्यटकको संख्या बढ्ने गरेको उनको भनाइ छ । सडकमार्ग भएर अन्नपूर्ण क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको संख्या पनि सोही याममा बढी हुने गरेको छ ।

मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको प्रमुख डा कडरियाले बताए । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ ।

सडकमार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्यांकअनुसार आव २०७९/८० मा एक लाख ७२ हजार १०८, आव २०८०/८१ मा दुई लाख २२ हजार १८० र आव २०८१/८२ मा दुई लाख ७८ हजार ११३ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।