काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार सञ्चालनमा नयाँ कार्यशैली अपनाउँदै मन्त्रीहरूलाई औपचारिक कार्यक्रम, उद्घाटन र भाषणबाजीमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टी नेतृत्वले मन्त्रीहरूलाई अनावश्यक सार्वजनिक गतिविधिभन्दा मन्त्रालयको काममा केन्द्रित हुन जोड दिएको हो।

पार्टी सभापति रवि लामिछाने र सरकारका प्रमुख बालेन्द्र शाह बीचको समन्वयमा यस्तो नीति अघि बढाइएको बताइएको छ। तीन महिनासम्म परिणाममुखी काम देखाउने लक्ष्यसहित मन्त्रीहरूलाई समय व्यवस्थापनमा कडाइ गरिएको स्रोतको भनाइ छ।

ad

सरकारका केही मन्त्रीहरू पार्टी संरचनामा समेत रहेकाले दोहोरो जिम्मेवारीको दबाब देखिएको छ। यसलाई मध्यनजर गर्दै पार्टीले उनीहरूलाई सचिवालय गतिविधिभन्दा सरकारी कामलाई प्राथमिकता दिन आग्रह गरेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका अनुसार मन्त्रालयलाई प्रभावकारी बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाललगायतलाई पनि यही निर्देशन लागू गरिएको छ। उनीहरूलाई पार्टी बैठकमा न्यून उपस्थिति जनाउँदै मन्त्रालयको जिम्मेवारीमा सक्रिय रहन भनिएको छ।

प्रधानमन्त्री शाह स्वयं पनि सार्वजनिक कार्यक्रम र भाषणबाट टाढा रहँदै आएका छन्। उनले अत्यावश्यकबाहेक अन्य कार्यक्रममा सहभागी नहुने नीति लिएको बताइन्छ। यसअघि देखिँदै आएको ‘रिबन काट्ने’ र उद्घाटन कार्यक्रममा मन्त्रीहरूको उपस्थिति अब न्यून गरिने भएको छ।

यता, सरकार सञ्चालनसँगै पार्टी संगठन विस्तारका काम भने छुट्टै टोलीले अघि बढाइरहेको छ। महाधिवेशन तयारी, स्थानीय तहको संगठन विस्तार र उम्मेदवार छनोट प्रक्रिया पार्टीभित्रै फरक ढाँचामा सञ्चालन भइरहेको बताइएको छ।

विश्लेषकहरूका अनुसार यो मोडेलले सरकारलाई काममा केन्द्रित गराउने प्रयास गरे पनि राजनीतिक संवाद र जनसम्पर्क कमजोर हुने जोखिमसमेत देखिएको छ।