काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सीमा सुरक्षाका विषयमा सरकारको भूमिकाप्रति कडा असन्तुष्टि जनाएका छन्। भारतले लिपुलेक क्षेत्र हुँदै मानसरोवर जाने मार्ग सञ्चालनतर्फ अघि बढाउँदा सरकारले कुनै प्रभावकारी कदम नचालेको उनको आरोप छ।

मंगलबार जारी विज्ञप्तिमा साम्पाङले महाकाली नदी आसपासको क्षेत्रमा सडक निर्माण हुँदै गर्दा समेत नेपाल मौन बसेको भन्दै प्रश्न उठाएका छन्। 'सीमावर्ती क्षेत्रमा यस्तो गतिविधि भइरहँदा सरकार किन निष्क्रिय रह्यो?' भन्ने उनको जिज्ञासा छ।

ad

उनले कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा गरेको जस्तो देखिएको टिप्पणी गर्दै यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्न आग्रह गरेका छन्। उनका अनुसार संयुक्त राष्ट्रसंघको उपस्थितिमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय वार्ता गरेर सीमा समस्या समाधान गर्नुपर्छ।

साम्पाङले नेपाली सेनाको भूमिकाबारे पनि प्रश्न उठाएका छन्। उनले सेनालाई औपचारिक वा व्यक्तिगत सेवामा होइन, सीमाको सुरक्षामा केन्द्रित गर्नुपर्ने बताएका छन्। 'सीमा रक्षा नै सेनाको प्राथमिक काम हुनुपर्छ,' उनले भने।

साथै, सुकुम्बासी बस्ती हटाउने कार्यमा सेना परिचालन गरिएकोप्रति उनले असहमति जनाउँदै प्राकृतिक विपद्ले क्षतिग्रस्त सडक मर्मतमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

अर्थतन्त्र सुधारमा पनि सरकार असफल भएको आरोप लगाउँदै उनले विदेशी ऋणमा निर्भरता घटाउन माग गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै उनले राज्य सञ्चालन सन्तुलित रूपमा गर्न नसक्ने हो भने पद छोड्नसमेत सुझाव दिएका छन्।

सरकारका गतिविधिबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै साम्पाङले जनतासमक्ष स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।