
काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा कम देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट हो ।
तथ्यांक हेर्दा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए भने महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आगमन भएको थियो । यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ ।
क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक (३१ प्रतिशत) आएका छन् । त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन् ।
देशगत रूपमा भारत पहिलो स्रोत बजार रहँदा चीन दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन् ।
विशेषज्ञहरूका अनुसार पछिल्लो समय पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव, हवाई उडानमा आएको अवरोध तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमीका कारण पर्यटक आगमनमा प्रभाव परेको देखिन्छ ।
पर्यटन क्षेत्रलाई पुनः गति दिन डिजिटल मार्केटिङ सुदृढ गर्ने, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्ने र नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने रणनीति आवश्यक देखिएको छ ।










Facebook Comments