
काठमाडौं । वित्तीय जानकारी इकाइ (एफआइयू)का उपनिर्देशक कमल पौडेलले सम्पत्ति शुद्धीकरणलाई ‘दोस्रो चरणको अपराध’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अवैध रूपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास आफैंमा अर्को अपराध हो।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अपराधबाट कमाएको रकमलाई लुकाउने वा वैध देखाउने प्रक्रियाले कानुनी जोखिम झनै बढाउने बताए। 'पहिले गैरकानुनी रूपमा धन आर्जन गरिन्छ, त्यसपछि त्यसलाई शुद्धीकरण गरेर अर्को अपराध गरिन्छ,' उनले भने।
नेपालमा सम्पत्ति शुद्धीकरण नियन्त्रणका प्रयास अझै कमजोर रहेको स्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय निगरानी निकाय एफएटीएफले नेपाललाई दुई पटक ‘ग्रे लिस्ट’ मा राखिसकेको स्मरण गराए। विशेषगरी घरजग्गा क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको उनले बताए।
उनका अनुसार घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा व्यवसायीहरूलाई सूचक संस्थाका रूपमा राखिएको छ, जसले शंकास्पद आर्थिक गतिविधिबारे जानकारी दिनुपर्ने दायित्व वहन गर्छन्। यदि कसैले सम्पत्तिको स्रोत स्पष्ट गर्न नसकेमा त्यस्तो कारोबार शंकास्पद मानिने उनले बताए।
'शंकास्पद कारोबारबारे जानकारी नदिए सूचक संस्थामाथि नै प्रश्न उठ्न सक्छ,' उनले चेतावनी दिँदै सम्बन्धित सबैलाई सजग रहन आग्रह गरे।
एफआइयूले वित्तीय पारदर्शिता कायम राख्न र कुनै पनि शंकास्पद कारोबारबारे तुरुन्त जानकारी गराउन सरोकारवालालाई आह्वान गरेको छ।










Facebook Comments