काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुली–काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बाढी तथा मौसमजन्य जोखिम बढेपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुली का अनुसार वैशाख २२ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

ad

प्रशासनले यो निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निर्देशन तथा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयपछि लिएको जनाएको छ। विशेषगरी रोशी खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने जोखिम बढेकाले रातिको यात्रा रोकिएको हो।

प्रशासकीय अधिकृत प्रविण कटुवालद्वारा जारी सूचनामा मौसमको अवस्था, वर्षा र खोलामा पानीको बहावका आधारमा आवश्यक परे दिनको समयमा समेत अस्थायी रूपमा आवागमन रोक्न सकिने उल्लेख गरिएको छ।

प्रशासनले यात्रु तथा चालकहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।