काठमाडौं । व्यवसायी शेखर गोल्छा लाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि रिहा गरिएको छ। काठमाडौं जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा म्याद थप्न अस्वीकार गरेसँगै उनी प्रहरी हिरासतबाट छुटेका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धानका लागि नियन्त्रणमा लिएको गोल्छालाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको जनाएको छ। उनलाई उनकी श्रीमती सीमा पन्त गोल्छा को जिम्मा लगाइएको छ।

ad

यसअघि काठमाडौं जिल्ला अदालत का न्यायाधीश मोना सिंहको इजलासले बिमा सम्बन्धी मुद्दामा अनुसन्धानका लागि थप समय दिन अस्वीकार गरेको थियो। प्रहरीले म्याद थपका लागि गरेको माग अदालतले ठुकराएपछि गोल्छा स्वतः रिहा भएका हुन्।

गोल्छा यसअघि धितोपत्र सम्बन्धी मुद्दामा सर्वोच्च अदालत को आदेशअनुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। तर, लगत्तै बिमा ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उनलाई हिरासतमा राख्ने प्रक्रियामा त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो। सो आदेशपछि उनी धरौटीमा रिहा भएका थिए।

हाल बिमा सम्बन्धी प्रकरणमा हिमालयन रि इन्स्योरेन्स को रकम दुरुपयोग सम्बन्धी विषयमा अनुसन्धान जारी छ। उक्त प्रकरणमा गोल्छा प्रत्यक्ष लाभार्थी देखिएनन् भन्ने प्रारम्भिक निष्कर्ष आए पनि त्यसबेला कम्पनीको नेतृत्वमा रहेका कारण अनुसन्धानको दायरामा तानिएको जनाइएको छ।

अदालतको पछिल्लो निर्णयपछि गोल्छा हाल बाहिर रहे पनि आवश्यक पर्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ।