काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनले मानवीय संवेदनालाई केन्द्रमा राख्दै दीर्घकालीन र व्यवस्थित समाधान आवश्यक रहेको औँल्याए।

कीर्तिपुरस्थित सुकुमबासी सेल्टर (होल्डिङ सेन्टर)को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले उचित वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउनु दुःखद् र अविवेकी कदम भएको बताए। उनका अनुसार हाल सेल्टरमा रहेका विस्थापितहरूको अवस्था अत्यन्तै कष्टकर छ।

ad

उनले हालसम्म ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिँदै ती नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सारेर स्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे। बसोवासको अनिश्चितताले बालबालिकाको शिक्षा र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ छ।

घिसिङले हालै भएको आत्महत्याको घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए। दुई तिहाइ बहुमत र स्पष्ट कार्यकाल भएको सरकारले हतारमा निर्णय गर्नुको सट्टा दूरदर्शी योजना ल्याउनुपर्ने उनको सुझाव छ।

स्थलगत अनुभव सुनाउँदै उनले हालको होल्डिङ सेन्टर डुबान जोखिमयुक्त क्षेत्रमा रहेको र एउटै टेन्टमा धेरै परिवार बस्न बाध्य भएको बताए। यसले स्वास्थ्य, शिक्षा र सामाजिक जीवनमा नकारात्मक असर पारेको उल्लेख गर्दै उनले धेरै बालबालिकाको पढाइ अवरुद्ध भएको र स्वास्थ्य सेवा समेत पहुँचबाहिर रहेको बताए।

रोजगारी गुम्दा आर्थिक संकट बढेको र बैंकको ऋण तिर्न नसक्दा मानसिक तनाव समेत बढेको उनको भनाइ छ। “पहिले व्यवस्थापनको स्पष्ट योजना बनाएर मात्र बस्ती हटाउनुपर्ने थियो, तर सरकारले उल्टो बाटो रोज्दा समस्या झन् जटिल बनेको छ,” उनले भने।

साथै, उनले सुकुमबासी समस्या देशव्यापी चुनौती भएको उल्लेख गर्दै वास्तविक सुकुमबासी र सरकारी जग्गा कब्जा गर्ने सम्पन्न वर्गबीच स्पष्ट पहिचान आवश्यक रहेको बताए। संविधानले सुनिश्चित गरेको आवास अधिकारको सम्मान गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको एकीकृत योजना ल्याउन उनले सरकारसँग आग्रह गरे।