काठमाडौं । सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायत सम्बन्धित निकायलाई बन्दीसहित लिखित जवाफ र अनुसन्धान फाइलसहित उपस्थित गराउन निर्देशन दिएको हो।

ad

भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ गरी हाल सिआइबीको हिरासतमा राखिएको छ। उनको रिहाइको माग गर्दै पत्नी आयुष्मा नेपाल ले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि अदालतले उक्त आदेश जारी गरेको हो।

अदालतले पक्राउको आधार, कारण र हालसम्मको अनुसन्धान विवरण स्पष्ट पार्दै सम्बन्धित मिसिल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ। यसअघि भट्टलाई शंकास्पद आर्थिक कारोबारमार्फत ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको आरोपमा गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो।

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर उनलाई हिरासतमा राखिएको जनाइएको छ। साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले पनि उनको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ भने उनको राहदानीसमेत कालोसूचीमा राखिएको बताइएको छ।