
काठमाडौं । सरकारले विश्व बैंक बाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार यो रकम औद्योगिक क्षेत्रको आधुनिकीकरण र वातावरणीय सुधारका लागि प्रयोग गरिनेछ। विशेषगरी परम्परागत बोइलर प्रणालीलाई विद्युतीय बोइलरमार्फत प्रतिस्थापन गर्न उद्योगहरूलाई सहुलियत कर्जा उपलब्ध गराइने र वायु गुणस्तर मापन क्षमतामा वृद्धि गरिने लक्ष्य राखिएको छ।
बैठकले कृषि क्षेत्रलाई लक्षित गर्दै भारतसँग सरकारी तह (जीटुजी) मार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति दिएको छ।
यसैगरी सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरिएको छ, जसमा संसद् भवन प्रवेश व्यवस्थासहितका संरचनात्मक सुधारहरू समावेश छन्। साथै, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।










Facebook Comments