
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया थप कडा बनाउने तयारी गरेको छ। पार्टीले तयार पारेको नयाँ मस्यौदाअनुसार सहकारी ठगी लगायतका आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूलाई उम्मेदवार बन्न नदिने स्पष्ट व्यवस्था गरिएको छ।
पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले प्रस्ताव गरेको प्रणालीअनुसार अब उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ। रास्वपाले यसलाई परम्परागत राजनीतिभन्दा फरक, दक्ष र जिम्मेवार नेतृत्व चयन गर्ने उपायका रूपमा प्रस्तुत गरेको छ।
कानुनी रूपमा २१ वर्ष उमेर पूरा भएको र सम्बन्धित स्थानीय तहको मतदाता हुनुपर्ने आधारभूत सर्तसँगै पार्टीले थप नैतिक मापदण्डहरू पनि तय गरेको छ। उम्मेदवारले सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउनुपर्नेछ भने अन्य दलसँगको सदस्यता त्यागेको हुनुपर्नेछ।
मस्यौदामा उम्मेदवारहरूले सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र लगायत आवश्यक कागजात पेश गर्न सहमति जनाउनुपर्ने उल्लेख छ। विशेषगरी सहकारी बचत अपचलन, मिटरब्याज, हुन्डी, सट्टेबाजी र हप्ता असुलीजस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पूर्ण रूपमा अयोग्य ठहर गरिने प्रावधान राखिएको छ।
पछिल्लो समय बढ्दो सहकारी ठगीका घटनालाई ध्यानमा राख्दै वित्तीय शुद्धता सुनिश्चित गर्न यस्तो कडाइ गरिएको पार्टीको भनाइ छ। साथै, शैक्षिक प्रमाणपत्रको सत्यता, वैवाहिक स्थिति र पारिवारिक विवरणसम्बन्धी स्पष्ट स्वघोषणा पनि अनिवार्य बनाइएको छ।
डिजिटल आचरणलाई समेत योग्यतासँग जोड्दै रास्वपाले साइबर अपराध, साइबर बुलिङ, घरेलु हिंसा वा यौनजन्य दुर्व्यवहारमा संलग्न व्यक्तिलाई उम्मेदवारीबाट वञ्चित गर्ने प्रस्ताव अघि सारेको छ। त्यस्तै, ठेक्कापट्टा वा सार्वजनिक खरिद प्रक्रियामा स्वार्थ बाझिने अवस्था भएका तथा अदालत वा अख्तियारमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका व्यक्तिहरू पनि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
यी प्रावधानमार्फत पार्टीले स्वच्छ छवि, उच्च नैतिकता र जिम्मेवार व्यवहार भएका व्यक्तिहरूलाई मात्रै राजनीतिक अवसर दिने लक्ष्य राखेको जनाएको छ।










Facebook Comments