
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग द्वारा गरिएको उक्त कारबाहीले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा असर परेको उनको भनाइ छ।
सोमबार जारी विज्ञप्तिमा उनले हेटौंडा र काठमाडौंस्थित घर तथा कार्यकक्षमा गरिएको छापामारीका क्रममा कागजातहरू नियन्त्रणमा लिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। आफूले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनले दाबी गरेका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको खर्च नियन्त्रण र आर्थिक अनुशासन कायम गर्न विभिन्न पहलहरू अघि बढाइएको पनि स्पष्ट पारेका छन्। योजना तथा कार्यक्रमहरू आवश्यकताअनुसार पारदर्शी ढंगले कार्यान्वयन गरिएको उनको भनाइ छ।
आफ्नो राजनीतिक तथा व्यावसायिक पृष्ठभूमिमाथि हुने छानबिनलाई सकारात्मक रूपमा लिने उल्लेख गर्दै उनले राज्यका निकायलाई आवश्यक पर्दा सधैं सहयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि, पूर्वसूचना बिना गरिएको छापामारीप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले संवैधानिक र कानूनी प्रक्रियाअनुसार हुने अनुसन्धानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाउँदै यस घटनाबाट भ्रमित नहुन प्रदेशवासी तथा समर्थकहरूलाई आग्रह गरेका छन्।










Facebook Comments