मध्यपूर्वमा जारी तनावले नयाँ मोड लिएको छ। होर्मुज जलडमरूनजिक इरानले अमेरिकी नौसेनाको एक युद्धपोतमाथि मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का अनुसार, जास्क टापु आसपास गस्ती गरिरहेको अमेरिकी जहाजले दिइएको चेतावनी बेवास्ता गरेपछि दुईवटा मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। अमेरिकी प्रशासनले 'प्रोजेक्ट फ्रिडम' नामक नौसैनिक अभियान घोषणा गर्दै जलडमरूमध्य क्षेत्रमा आवागमन गरिरहेका जहाजहरूको सुरक्षा सुनिश्चित गर्ने योजना अघि सारेको छ। उक्त अभियानअन्तर्गत ठूलो संख्यामा सैनिक, युद्धपोत तथा हवाई साधन परिचालन गरिने जनाइएको छ।

ad

हाल होर्मुज क्षेत्र आसपास हजारौं जहाजहरू लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको बताइएको छ। विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही मार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति प्रणालीमा गम्भीर असर पारिरहेको छ। ढुवानी कम्पनीहरू उच्च जोखिमका कारण अन्योलमा छन् भने बीमा शुल्कसमेत उल्लेखनीय रूपमा बढेको छ।

इरानले भने जलडमरूमध्यमा आफ्नो रणनीतिक नियन्त्रण रहेको दोहोर्‍याउँदै आफ्ना नियमअनुसार समन्वय नगर्ने जहाजमाथि कारबाही हुन सक्ने चेतावनी दिएको छ। साथै, बाह्य सैन्य हस्तक्षेप भए कडा प्रतिक्रिया दिने बताएको छ।

यसैबीच, क्षेत्रीय तनाव अन्य स्थानमा पनि फैलिँदै गएको छ। इजरायलले दक्षिण लेबनानमा सैन्य गतिविधि तीव्र बनाएको छ भने हिज्बुल्लाहले युद्धविरामको कुनै सम्भावना नरहेको संकेत गर्दै प्रतिरोध जारी राख्ने बताएको छ। गाजा र पश्चिमी किनार क्षेत्रमा जारी द्वन्द्वका कारण मानवीय संकट अझ गहिरिँदै गएको छ।