
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३०, २०२६) को अवसरमा शुभकामना दिँदै उनले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका हुन्।
‘प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ। प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारहरूलाई सञ्चार कार्य गर्नाका लागि सुरक्षित वातावरण हुनु पर्दछ भन्ने मलाई लाग्दछ।’ उनले भने, ‘हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ। सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवम् निर्वाधरुपमा संलग्नभई समाचार संप्रेषण गरी सबै वर्ग एवम् समुदायको आवाज मुखरित हुनुपर्दछ।’
उनले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताए। सामाजिक सञ्जालबाट प्रवाहित हुने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने उनको भनाई छ।










Facebook Comments