काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विगतका विवाद र असमझदारीमा अल्झिनु भन्दा सकारात्मक सोचका साथ अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।

जिल्ला समन्वय समितिको आवश्यकता र यसको स्थायित्वबारे केन्द्रित एकदिने कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान सत्तामा रहेका शक्तिप्रति सकारात्मक दृष्टिकोण राख्न आवश्यक रहेको उल्लेख गरे। “हिजोका घटनालाई मात्र दोहोर्याएर बस्दा नयाँ सोच र सकारात्मकता अघि बढ्न सक्दैन,” उनले भने, “त्यसैले विगतबाट सिक्दै अब अगाडि बढ्नुपर्छ।”

ad

उनका अनुसार राजनीतिक परिवेश समयअनुसार परिवर्तनशील हुन्छ र नयाँ शक्ति तथा नेतृत्व उदाउनु स्वाभाविक प्रक्रिया हो। उनले नयाँ अनुहार र विचारलाई शंकाको नजरले मात्र हेर्न नहुने भन्दै तिनलाई अवसर र मूल्यांकन दुवै दिनुपर्ने धारणा राखे। “पार्टी उही भए पनि सोच र नेतृत्व परिवर्तनसँगै इतिहास नयाँ ढंगले लेखिन सक्छ,” उनले बताए।

आङ्देम्बेले निराशाभन्दा आशा र विश्वासले नै राजनीति तथा समाजलाई अघि बढाउने उल्लेख गरे। “आशा नै जीवनको आधार हो, त्यसैले सकारात्मक सोचसहित प्रतिस्पर्धामा सहभागी हुने संस्कार विकास गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा प्रदीप ज्ञवालीले पनि जिल्ला समन्वय समितिको औचित्यबारे आफ्नो धारणा राख्दै यसको प्रभावकारी भूमिकाको पक्षमा नेकपा एमाले रहेको स्पष्ट पारे। उनले संघीय संरचनामा स्रोतको समुचित बाँडफाँट र विकास कार्यको अनुगमनका लागि यस्तो निकाय आवश्यक पर्ने बताए।

ज्ञवालीले जिल्ला समन्वय समितिको प्रभावकारिताबारे उठ्ने प्रश्नहरू स्वाभाविक भए पनि समाधान खोज्ने दिशामा बहस हुनुपर्ने बताए। “समन्वयको आवश्यकता छ कि छैन भन्ने प्रश्नभन्दा पनि यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले भने। उनले विगतमा सत्तामा हुँदा पर्याप्त काम नभएको भन्दै हुने आलोचनाले मात्र निष्कर्ष ननिस्कने धारणा पनि व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले संघीय शासन प्रणालीअन्तर्गत विभिन्न तहबीच समन्वय मजबुत बनाउन जिल्ला समन्वय समितिको भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।