
काठमाडौं । आगामी केही दिन देशका विभिन्न भूभागमा वर्षाको सक्रियता बढ्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार तीन दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था कायम छ।
शनिबार साँझसम्म बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ।
महाशाखाले विशेषगरी आज शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। यसैगरी भोलि आइतबार राति पनि सोही क्षेत्रमा यस्तै प्रकृतिको वर्षा दोहोरिने सम्भावना रहेको बताइएको छ।
यस्तै, पर्सी सोमबार भने कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्हरूले विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्। भारी वर्षासँगै चट्याङ्ग, पहिरो तथा आकस्मिक बाढीको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
पछिल्ला दिनहरूमा प्रि–मनसुन सक्रिय बन्दै गएकाले मौसममा तीव्र परिवर्तन देखिन थालेको छ। यसले दैनिक जनजीवनसँगै यातायात र कृषि क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकायले पूर्वतयारीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।










Facebook Comments