काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीले कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन पुनः बगाएको छ, जसका कारण सिरहा जिल्ला र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्ग अवरुद्ध बनेको छ।

हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको विकल्पका रूपमा प्रयोग हुँदै आएको उक्त डाइभर्सन शुक्रबार बिहान आएको बाढीले बगाएको हो। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको सतह ह्वात्तै बढेपछि संरचना धान्न नसकी क्षतिग्रस्त भएको जनाइएको छ।

ad

डाइभर्सन बगेसँगै सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। केही दिनअघि मात्रै वर्षाले क्षति पुर्‍याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको डाइभर्सन फेरि बग्दा स्थानीयवासी र यात्रु थप समस्यामा परेका छन्।
स्थानीय प्रशासनका अनुसार नदीमा पानीको बहाव अझै उच्च रहेकाले तत्काल मर्मत सम्भव छैन। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पानीको सतह घटेपछि मात्र पुनः निर्माणको काम अघि बढाइने बताए। “अहिले पश्चिमतर्फ पानीको बहाव अत्यधिक छ, अवस्था सामान्य भएपछि नगरपालिकाको उपकरण प्रयोग गरी डाइभर्सन पुनः निर्माण गरिनेछ,” उनले जानकारी दिए।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यस खण्डमा पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। विशेषगरी बर्खायाममा आवतजावत निकै जोखिमपूर्ण हुने गरेको छ। पुल नहुँदा स्थानीयहरू कहिलेकाहीँ ज्यान जोखिममा राखेर डुंगाबाट नदी पार गर्न बाध्य छन् भने वैकल्पिक रूपमा लामो दूरी घुमेर पूर्वपश्चिम राजमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।

स्थानीयले दीर्घकालीन समाधानका लागि पुल निर्माण कार्य छिटो सम्पन्न गर्न माग गरेका छन्। हरेक वर्ष दोहोरिने समस्या समाधान नभएसम्म यस क्षेत्रका बासिन्दा र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था यथावत रहने देखिएको छ।