
काठमाडौं । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले पुनर्जागरण अभियान सुरु गरेका छन्। शनिबार काठमाडौँको मीनभवनमा आयोजित भेलामार्फत उनीहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।
करिब चार घण्टासम्म चलेको उक्त भेलामा केन्द्रीय सदस्यसहित करिब १३० जना नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। भेलाले पार्टीको हालैको चुनावी परिणाम अपेक्षाअनुसार नआउनुमा वर्तमान नेतृत्वको कार्यशैली र रणनीतिक कमजोरीलाई मुख्य कारण ठहर गरेको छ। सहभागीहरूले नेतृत्वले पार्टीलाई समयअनुसार रूपान्तरण गर्न नसकेको आरोप लगाएका छन्।
भेलामा केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया र समिक बडाललगायत युवा नेताहरूले नेतृत्व परिवर्तन अब टार्न नसकिने बताएका थिए। उनीहरूले पार्टीभित्र युवाहरूको भूमिकालाई योजनाबद्ध रूपमा कमजोर बनाइएको र सक्षम नेताहरूलाई गुटबन्दीको आरोपमा पाखा लगाइएको दाबी गरेका छन्।
भेलाले अध्यक्ष केन्द्रित संरचनाले पार्टीभित्रको बहस र लोकतान्त्रिक अभ्यास खुम्चिएको निष्कर्ष निकालेको छ। “विचार राख्नै नपाइने अवस्था सिर्जना भएको छ,” एक सहभागीले बताए। त्यसैले अब सातै प्रदेशमा पुनर्जागरण र पुस्तान्तरणको एजेन्डासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
एमालेकी पूर्व केन्द्रीय सदस्य नवीना लामाले पार्टी रूपान्तरण अनिवार्य भइसकेको बताउँदै विशेष महाधिवेशनको मागलाई देशव्यापी बहसको विषय बनाइने जानकारी दिइन्। त्यस्तै अनेरास्ववियुका उपमहासचिव कमल जोशीले वर्तमान नेतृत्वबाट पार्टी सही दिशामा अघि बढ्न नसक्ने दाबी गर्दै नेतृत्व परिवर्तनको एजेन्डा सशक्त रूपमा उठाइने बताए।
यसअघि नै १५ बुँदे रूपान्तरण प्रस्ताव सार्वजनिक गरिसकेका युवाहरूले अब विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्। भेलामा अधिकांश वक्ताहरूले केपी शर्मा ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य अन्योलमा पर्ने चेतावनी दिएका थिए।
पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, अनेरास्ववियूका पूर्व अध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया तथा युवा सङ्घका उपमहासचिव उपेन्द्र शाहीलगायत वक्ताहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको टिप्पणी गरे।
युवा नेताहरूको यो पहलले एमालेभित्र नयाँ बहस सुरु गराएको छ। नेतृत्व पक्ष भने सार्वजनिक रूपमा यसबारे प्रतिक्रिया दिन हिच्किचाइरहेको छ। आगामी दिनमा यो अभियानले पार्टीभित्र कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।










Facebook Comments