काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढाउन आफू लचक र समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएका असमझदारी समाधान गर्न अघिल्ला नेतृत्वबाट सिकेको उदारताको अभ्यास गर्ने बताए। सबै पक्षलाई समेटेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

ad

थापाले पार्टीभित्रका विवाद समाधानमा नेताहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे। 'पार्टी आफ्नै घरजस्तै हो, यसलाई मिलाएर अघि बढाउन सकिन्छ,' उनले भने।

उनले हालको अवस्थाबारे टिप्पणी गर्दै कांग्रेसको छवि बाहिरबाट हेर्दा आन्तरिक भेला र छलफलमै सीमित भएको जस्तो देखिएको बताए। उनका अनुसार सञ्चारमाध्यममा कांग्रेससँग सम्बन्धित समाचारहरू प्रायः बैठक, विवाद र सहमतिको विषयमै केन्द्रित भइरहेका छन्।

'बाहिरबाट हेर्दा पार्टीको अधिकांश समय आन्तरिक समस्या समाधानमै खर्च भइरहेको जस्तो देखिन्छ,' उनले भने, 'तर त्यो मात्रै मुख्य कुरा होइन, यो गौण विषय हो।'

थापाले पार्टीलाई बलियो बनाउन आन्तरिक एकता मात्र होइन, बाह्य समर्थनसमेत विस्तार गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र र बाहिर दुवै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।