
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी ले आगामी मङ्सिरमा राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
शनिबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार महाधिवेशनको तयारी स्वरूप चरणबद्ध कार्यक्रम तय गरिएको छ। साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ। त्यसपछि भदौ १५ गतेसम्म वडा तह, भदौ १६ देखि मसान्तसम्म पालिका तह, असोज मसान्तसम्म जिल्ला तह र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिने योजना रहेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वाला का अनुसार जेठ मसान्तभित्र केन्द्रदेखि वडा तथा टोल तहसम्मका सबै संगठन र जनवर्गीय मोर्चाहरूको एकीकरण तथा समायोजन गरिसक्ने लक्ष्य राखिएको छ।
पार्टीले सबै तहका समितिहरू समानुपातिक र समावेशी आधारमा चयन गर्ने नीति लिएको छ। यसमा अनुभवी र युवा पुस्ताबीच सन्तुलन कायम गर्दै युवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य निर्धारण गरिएको छ।
यसैबीच, पार्टीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ। उक्त कार्यदलमा देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा लगायत वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान र खिमलाल देवकोटा समेत सहभागी छन्।
पार्टी एकीकरणपछि गठन भएको कार्यसंयोजन समितिको बैठक चैत १९ देखि वैशाख १४ सम्म चलेको थियो। सो बैठकले अन्तरिम विधान–२०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय समेत गरेको जनाइएको छ।












Facebook Comments