काठमाडौं । भारतले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया खुला गरेको छ। भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त यात्रा चीनसँगको समन्वयमा सञ्चालन गरिनेछ।

मन्त्रालयका अनुसार आगामी जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन हुने तालिका तय गरिएको छ। तर यस विषयमा नेपाललाई औपचारिक जानकारी नदिइएको जनाइएको छ।

ad

यात्राका लागि दुई प्रमुख मार्ग निर्धारण गरिएको छ—उत्तराखण्डस्थित लिपुलेक पास हुँदै र सिक्किमको नाथुला पास हुँदै। तीमध्ये लिपुलेक मार्ग नेपाल–भारत–चीन त्रिदेशीय सीमासँग जोडिएको संवेदनशील क्षेत्र हो, जसलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

नेपालले लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले ती क्षेत्र आफ्नो नियन्त्रणमा राख्दै आएको छ। यसअघि चीन र भारतबीच लिपुलेक नाका सञ्चालन गर्ने सहमति हुँदा नेपालले कूटनीतिक नोटमार्फत आपत्ति जनाएको थियो।

इतिहासअनुसार सन् १९६२ मा भारत–चीन युद्धपछि भारतीय सेना कालापानी क्षेत्रमा उपस्थित भएको थियो। त्यसपछि यो विषय क्रमशः द्विपक्षीय विवादको रूपमा विकसित भएको हो। १९९० पछि प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनासँगै सीमा विवादले थप ध्यान तान्यो, र सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भारतसँग औपचारिक रूपमा यो मुद्दा उठाएका थिए। यद्यपि समाधानका लागि संयन्त्र बने पनि विवाद अझै टुंगो लागेको छैन।

भारतीय पक्षका अनुसार यस वर्ष लिपुलेक र नाथुला दुवै मार्गबाट १०–१० वटा टोली यात्रामा पठाइनेछ। प्रत्येक टोलीमा ५० जनाका दरले कुल एक हजार यात्रु सहभागी हुन सक्नेछन्।

यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले तोकिएको अनलाइन माध्यममार्फत आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति मे १९ राखिएको छ। आवेदनकर्तामध्येबाट ‘रेन्डम’ प्रणालीमार्फत छनोट गरिने र लैंगिक सन्तुलनलाई समेत प्राथमिकता दिइने जनाइएको छ।