
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले संविधानले अध्यादेश जारी गर्ने अधिकार दिएको भए पनि त्यसको प्रयोग स्पष्ट आवश्यकता, प्रक्रिया र औचित्यका आधारमा हुनुपर्ने बताए।
नेपाल ट्रेड युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारले कानुनी शासनको प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको आरोप लगाए। उनका अनुसार सरकारको काम गर्ने शैलीमा मनपरी ढंग झल्किएको छ।
‘यो सरकार नयाँ काम गर्ने भन्दै आएको हो, कानुनले शासन गर्ने भनेको हो,’ थापाले भने, ‘तर व्यवहार हेर्दा कानुन बदल्ने, ठोक्ने, हान्ने जस्तो प्रवृत्ति देखिन्छ। यस्तो तरिकाले देश सही दिशामा जाँदैन।’
उनले सत्तामा पुगेपछि इच्छाअनुसार कानुन बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। ‘अध्यादेश ल्याउने अधिकार सरकारसँग हुन्छ, यसमा विवाद छैन,’ उनले भने, ‘हामीले पनि विगतमा प्रयोग गरेका छौं। तर त्यसका लागि ठोस आधार र आवश्यकता अनिवार्य हुन्छ।’
थापाले भदौ २४ गतेको घटनाबारे छानबिन आयोग गठन गर्ने सरकारको प्रतिबद्धता पूरा नभएको भन्दै आलोचना गरे। उनले यस्तो असंगत व्यवहारले सरकारप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिए।









Facebook Comments