
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कमजोर भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न पूर्ण रोक लगाइएको छ।
भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका ओलीलाई पत्नी राधिका शाक्यले चिकित्सकहरूको सल्लाहअनुसार भेटघाटमा रोक लगाएकी हुन्।
दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेको र हालै पित्तथैलीको शल्यक्रिया गरिएकोले संक्रमणको जोखिम बढेको पारिवारिक स्रोतले जनाएको छ।
पार्टीभित्र हाल निर्वाचनपछि समीक्षा र नेतृत्वको विषयमा छलफल हुन बाँकी छ। तर, अध्यक्षको स्वास्थ्य संवेदनशील भएकाले शीर्ष नेताहरू र कार्यकर्ताहरू ओलीको पहुँचमा पुग्न सकिरहेका छैनन्।
एमालेभित्र नेतृत्व परिवर्तन र विकल्प खोज्ने विषयमा बहस तीव्र हुँदै गएको छ। तर, निकटका नेताहरूले स्वास्थ्य पूर्णरूपमा ठिक नहुन्जेल राजनीतिक छलफल स्थगित रहने बताएका छन्।
चिकित्सकहरूले ‘ग्रिन सिग्नल’ नदिएकाले गुण्डु निवासमा संक्रमणको जोखिम कम नभएसम्म भीडभाड घटाउन र उच्च सतर्कता अपनाउन शाक्यले आग्रह गरेकी छिन्। यसले आगामी पार्टी बैठक र समीक्षा प्रक्रियामा केही ढिला हुने संकेत दिएको छ।










Facebook Comments