काठमाडौँ । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने रूचि देखाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्कासँग भेटवार्तामा यस विषयमा प्रस्ताव राखेका छन्।

फिनल्यान्डको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट मानिन्छ। भेटमा मन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीचका सदैव सुखद सम्बन्ध र विकास सहयोगको कदर गर्दै आगामी दिनमा पनि शिक्षासहित विभिन्न क्षेत्रमा निरन्तर साझेदारीको अपेक्षा व्यक्त गरे।

ad

भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, र शिक्षा क्षेत्रमा व्यापक सहकार्यका अवसरबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। राजदूत पुहाक्काले फिनल्यान्डको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए। हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा छन्।

यसैबेला, नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति अघि सारेको सन्दर्भमा, फिनल्यान्डले ‘इन्क्लुसिभ एजुकेशन’ र अटिजम शिक्षामा विशेषज्ञता भएका कारण सहयोग गर्न इच्छुक रहेको जनाएको छ। साथै, वर्तमान सरकारले अघि सारेको ‘डिजिटल ट्रान्सफर्मेसन’ कार्यक्रममा पनि फिनल्यान्ड विशेषज्ञता अनुसार सहकार्यको इच्छा राखेको छ।