काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित किष्ट अस्पतालमा बुधबार बिहान करिब १० बजे पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा ल्याउँदा उनी अचेत अवस्थामा रहेको र शरीरमा चिनीको मात्रा (सुगर लेभल) अत्यन्त कम भएको पाइएको थियो।

ad

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार तत्काल सलाइनसहित आवश्यक उपचार गरेपछि उपसभामुख ठाकुरको होस फर्किएको छ। हाल उनलाई क्याबिनमा राखेर चिकित्सकको निगरानीमा थप उपचार भइरहेको बताइएको छ।

यसैबीच, उपसभामुख बिरामी परेपछि उनको दलका सांसदहरू विपक्षी दलको बैठकमा सहभागी हुन सकेनन्। सांसद आरेन राईले उपचार व्यवस्थापनमै व्यस्त रहनुपरेका कारण बैठकमा अनुपस्थित रहनुपरेको जानकारी दिएका छन्।

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर बन्दै गएको छ भने केही समय निगरानीमा राखेर थप उपचार गरिनेछ।