काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा आविष्कार अभियन्ता महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सङ्घीय संसद् सचिवालयले विवरण सार्वजनिक नगर्न सक्ने आशंकाका कारण आफूले नै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको बताएका छन्।

पुनका अनुसार उनीसँग करिब ३ तोला सुन रहेको छ। साथै कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार स्थानमा गरी करिब २८ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

ad

उनले बैंक मौज्दाततर्फ राष्ट्रिय वाणिज्य बैंकमा रहेको करिब २५ लाख रुपैयाँ प्रतिनिधिसभा निर्वाचनका क्रममा सहयोगीहरूबाट प्राप्त भएको रकम भएको बताएका छन्।

आफूले बुझाएको विवरण सम्पूर्ण भौतिक सम्पत्तिको सूची भएको उल्लेख गर्दै पुनले विगतमा पनि शिक्षा मन्त्री हुँदा यस्तै विवरण बुझाएको तर सार्वजनिक नभएको स्मरण गरेका छन्। यही कारणले यसपटक सचिवालयमा बुझाउनुअघि नै सार्वजनिक गर्नुपरेको उनको भनाइ छ।

पुनले भौतिक सम्पत्तिबाहेक आफूले अमूल्य ठान्ने अभौतिक सम्पत्तिको रूपमा देश–विदेशमा रहेका सहयोगीहरूको ठूलो सञ्जाल रहेको बताएका छन्। उनका अनुसार यिनै सहयोगीहरू आफ्नो सबैभन्दा ठूलो सम्पत्ति हुन्।