
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हाल ल्याइएको अध्यादेशलाई लिएर उठिरहेका राजनीतिक टिप्पणीप्रति स्पष्ट प्रतिक्रिया दिएको छ। पार्टीले उक्त अध्यादेश कुनै दल फुटाउने वा विपक्षीलाई लक्षित गर्ने उद्देश्यले नभई राज्य संरचनामा देखिएका समस्याहरू समाधान गर्न ल्याइएको दाबी गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको अनौपचारिक बैठकपछि प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुधारमुखी कदमका रूपमा अध्यादेश आवश्यक ठहरिएको जानकारी दिए। उनका अनुसार विगतमा अध्यादेशको प्रयोग राजनीतिक स्वार्थ र दलीय हितमा केन्द्रित भएको भए पनि अहिलेको सन्दर्भ फरक रहेको छ।
बैठकमा सहभागी नेताहरूले राज्यका विभिन्न निकायमा देखिएको अव्यवस्था, अनावश्यक दलीय प्रभाव र गलत नियुक्तिका कारण निर्णय प्रक्रिया प्रभावित भएको धारणा राखेका थिए। उनीहरूले यस्ता समस्यालाई समयमै सम्बोधन नगरे जनताको अपेक्षा पूरा गर्न कठिन हुने निष्कर्ष निकालेका छन्।
रास्वपाले संवैधानिक आयोग तथा अन्य निकायमा लामो समयदेखि पद रिक्त रहँदा कार्यसम्पादनमा असर परेको उल्लेख गर्दै अध्यादेशमार्फत ती संरचनालाई सक्रिय बनाउने लक्ष्य राखिएको जनाएको छ। कतिपय निकायमा कार्यवाहक नेतृत्वमार्फत काम चलाउनुपर्ने बाध्यता रहेको अवस्थालाई समेत सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
पार्टीले वर्तमान अध्यादेश कसैविरुद्ध नभई प्रणाली सुधारका लागि केन्द्रित रहेको दोहोर्याउँदै आगामी दिनमा जनअपेक्षा पूरा गर्न “नम्र तर प्रभावकारी राजनीतिक आक्रामकता” आवश्यक पर्ने निष्कर्षसमेत निकालेको छ।










Facebook Comments