काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका कमिटीमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संगठनात्मक पुनर्संरचनासहित विभिन्न चार बुँदे योजना पारित गरेको हो।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको समापनमा प्रस्तुत गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको एक पदाधिकारीले जानकारी दिए।

ad

निर्णयअनुसार पार्टी पुनर्गठन प्रक्रियालाई वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित महाधिवेशनसम्म पूर्णता दिने उल्लेख छ। साथै वडादेखि केन्द्रसम्म सानो र चुस्तदुरुस्त निर्वाचित कमिटी गठन गर्ने र ती कमिटीमा कम्तीमा ५० प्रतिशत युवा तथा नवयुवालाई नेतृत्वमा ल्याउने व्यवस्था गर्ने निर्णय गरिएको छ।

त्यस्तै, पार्टी पुनर्गठनसँगै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूसँग साझा समझदारी निर्माण गर्दै राष्ट्रियता, संविधान र प्रणालीको पक्षमा अग्रसर हुने नीति लिइनेछ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा भने वैचारिक, राजनीतिक र कूटनीतिक तहबाट योजनाबद्ध रूपमा सक्रियता बढाउने निर्णय पनि नेकपाले गरेको छ।