काठमाडौँ । संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस कदमलाई लोकतान्त्रिक अभ्यासविपरीत र संवैधानिक प्रक्रियामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

मंगलबार जारी विज्ञप्तिमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अध्यादेशको अत्यधिक प्रयोगले संसदीय प्रणाली कमजोर बनाउने बताएका छन्। उनका अनुसार यस्तो अभ्यासले विधायिकाको अधिकारमाथि कार्यपालिकाको अतिक्रमण देखाउँछ र सरकारको संसद्प्रतिको विश्वासमा प्रश्न उठाउँछ।

ad

कांग्रेसले यो केवल प्रक्रियागत कमजोरी नभई विधिको शासनलाई असर पार्ने गम्भीर विषय भएको जनाएको छ। संसद्मा स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको संकेत भएको पार्टीको निष्कर्ष छ।

विज्ञप्तिमार्फत कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाप्रति प्रतिबद्ध रहन, संसद्को गरिमाको सम्मान गर्न तथा यस्ता निर्णयहरू पुनर्विचार गर्न आग्रह गरेको छ।