काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लाली बजार’माथि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल प्रदर्शन नगर्न निर्देशन दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले परेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

फिल्मविरुद्ध बादी समुदायका तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्। रिटमा चलचित्रको कथावस्तु र प्रस्तुतीकरणले बादी समुदायको भावनामा आघात पुर्‍याएको दाबी गरिएको छ। सोही आधारमा अदालतले तत्कालका लागि प्रदर्शन रोक्ने आदेश दिएको हो।

ad

मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई वैशाख २२ गते छलफलका लागि बोलाइएको छ। निर्देशक यम थापाको निर्देशनमा बनेको उक्त फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो।

निर्माण पक्षले भने फिल्ममा बादी समुदायका महिलाहरूको संघर्ष र सामाजिक यथार्थलाई उजागर गरिएको दाबी गर्दै आएको छ। तर समुदायभित्रैबाट आपत्ति आएपछि विवाद उत्पन्न भएको हो।

यसअघि केन्द्रीय चलचित्र जाँच समितिले ‘लाली बजार’लाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको थियो। सेन्सर प्रक्रियामा केही संवादमा सुधार गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिइएको थियो। तर अदालतको आदेशपछि फिल्मको रिलिज अन्योलमा परेको छ।