
काठमाडौं । नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले एक चीन नीतिप्रति नेपालको स्पष्ट प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने अडान पुनः व्यक्त गरे।
सभामुख अर्यालले वर्तमान सरकारले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै चीनको सहयोग अपेक्षित रहेको बताए। उनले सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै राजनीतिक संक्रमणका समयमा चीनले देखाएको सहयोगप्रति आभार व्यक्त गरे।
संसदीय तहमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। संघीय संसद् नेपाल र राष्ट्रिय जनकंग्रेसबीच भएको पूर्व समझदारी कार्यान्वयन गर्दै विधायिकी निकायहरूबीच सहकार्य बढाइने सभामुखको भनाइ थियो। साथै व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति र कनेक्टिभिटी विस्तारमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभलाई गति दिनुपर्ने धारणा राखिएको छ।
उता राजदूत माओमिङले नेपाललाई चीनले महत्त्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति समर्थन जारी रहने बताए। उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै विशेषतः ताइवान र तिब्बतसम्बन्धी नेपालको नीति निरन्तर रहने अपेक्षा व्यक्त गरे।
राजदूतले नेपालमा नयाँ सरकारद्वारा अघि बढाइएका सुधार, सुशासन र आर्थिक विकासका प्रयास सकारात्मक रहेको टिप्पणी गर्दै युवा नेतृत्वले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। साथै दुवै देशका संसदबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान र अनुभव साझेदारी आवश्यक रहेको बताउँदै सभामुखसहित सांसदहरूलाई चीन भ्रमणको निम्ता दिएका छन्।
भेटमा विश्वमा बढ्दो द्वन्द्वप्रति पनि चिन्ता व्यक्त गर्दै नेपालले शान्ति, संवाद र सहकार्यलाई प्राथमिकता दिने नीति पुनः दोहोर्याएको बताइएको छ।









Facebook Comments