गान्तोक — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको ५०औँ राज्य स्थापना दिवसका अवसरमा देशलाई भाषिक, क्षेत्रीय र सामाजिक आधारमा विभाजन गर्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन्। गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता र विविधताको महत्व पुनः जोड दिए।

समारोहमा नेपाली ढाका टोपीमा देखिएका मोदीले सिक्किमलाई 'भारतको अष्टलक्ष्मी'को संज्ञा दिँदै पूर्वोत्तर क्षेत्रको विकासप्रति सरकार प्रतिबद्ध रहेको बताए। 'सिक्किम र पूर्वोत्तर केवल भौगोलिक क्षेत्र होइनन्, यी हाम्रो समृद्धिका आधार हुन्,' उनले भने, 'हामी पूर्वाधार निर्माणसँगै तीव्र विकासका लागि दृढ संकल्पित छौं।'

ad

कार्यक्रमका क्रममा प्रधानमन्त्रीले ४ हजार करोड रुपैयाँभन्दा बढी लागतका ३० भन्दा धेरै विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका छन्। ती परियोजनाहरू पूर्वाधार, पर्यटन, ऊर्जा र सामाजिक क्षेत्रसँग सम्बन्धित रहेको बताइएको छ।

मोदीले सिक्किमको पर्यटन सम्भावनाको पनि उच्च प्रशंसा गरे। सानो भूभाग भए पनि देशको २५ प्रतिशतभन्दा बढी पुष्प विविधता यहीँ पाइने उल्लेख गर्दै उनले राज्यको प्राकृतिक सम्पदा विश्वकै लागि आकर्षणको केन्द्र बन्न सक्ने बताए। 'सिक्किममा ५०० भन्दा बढी प्रजातिका चराहरू, करिब ७०० प्रजातिका पुतलीहरू, हरियाली वन र कञ्चनजङ्घाको भव्यता छ। यहाँको सौन्दर्यले पर्यटकलाई बारम्बार फर्किन बाध्य बनाउँछ,' उनले भने।

दुई दिने भ्रमणका क्रममा मोदीले स्वर्णजयन्ती मैत्री मञ्जरी पार्कको अवलोकन गर्नुका साथै त्यहाँ निर्माण गरिएको विश्वस्तरीय अर्किड अनुभव केन्द्र पनि निरीक्षण गरेका थिए।

कार्यक्रममा आयोजकले उनलाई ढाका टोपी लगाइदिएका थिए। नेपालसँग सिमाना जोडिएको सिक्किममा ठूलो नेपाली भाषी समुदाय बसोबास गर्दै आएको छ, जसका कारण सांस्कृतिक निकटता झल्किने परम्परागत पोशाकमा मोदीको उपस्थितिले विशेष ध्यान आकर्षित गरेको थियो।