काठमाडौँ ।रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र ‘मालिक प्रवृत्ति’ स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका सांसदविश्वराज पोखरेललाई लक्षित गर्दै सेवाभाव नै पार्टीको मूल आधार भएको बताएका हुन्।

केही दिनअघि ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकसँगको व्यवहारका कारण आलोचित बनेका पोखरेलप्रति प्रतिक्रिया दिँदै लामिछानेले भने, “मालिक बन्ने सोच भएकाहरूका लागि यो पार्टी होइन, त्यस्तो चाहना भए अन्यत्र जान सकिन्छ।” उनले पार्टीका नेता–कार्यकर्ता ‘सेवक’को भूमिकामा रहनुपर्नेमा जोड दिए।

ad

पोखरेलले जिल्लाको एक पालिकामा प्रधानाध्यापकले स्वागत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए, जसले व्यापक आलोचना निम्त्याएको थियो। विवादपछि उनले सार्वजनिक रूपमा क्षमायाचना गरेका थिए।

लामिछानेले उक्त घटनालाई सन्दर्भ बनाएर पार्टीभित्र अनुशासन र व्यवहारमा सजगता आवश्यक रहेको बताए। “व्यक्तिगत रूपमा सोचिए पनि यस्ता अभिव्यक्ति सार्वजनिक रूपमा आउनु हुँदैन,” उनले चेतावनी दिए।

उनले आफूहरू सत्ता वा हैसियत प्रदर्शनका लागि नभई जनताको सेवा गर्न राजनीतिमा आएको दोहोर्‍याए। साथै, सिन्धुलीमा प्रहरी हिरासतमा एक दलित व्यक्तिको मृत्यु प्रकरणबारे टिप्पणी गर्दै पीडितको आवाजलाई संवेदनशील रूपमा सुन्नुपर्ने धारणा राखे।