काठमाडौँ । थापाथलीसहित विभिन्न स्थानबाट विस्थापित सुकुम्बासी परिवारहरूको विवरण संकलन सुरु भए पनि नाम दर्ता गर्नेको संख्या एक हजार नाघ्न सकेको छैन।दशरथ रंगशालामा सोमबार साँझ ६ बजेसम्म ९३१ परिवारले मात्र आफ्नो विवरण दर्ता गराएका छन्।

विवरण संकलनमा खटिएका अधिकारीका अनुसार ती परिवारका ३ हजार ९३५ जना सदस्य दर्ता भएका छन्, जसमा १५ सयभन्दा बढी बालबालिका छन्। सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका बस्ती हटाएपछि विस्थापित भएका सुकुम्बासीहरू बिस्तारै सम्पर्कमा आउन थालेका हुन्।

ad

प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेपछि धेरै परिवार डर र अन्योलमा परेर विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराउन रंगशालामा पुगिरहेका छन्।

आवास र दैनिक गुजारा चलाउन कठिनाइ भएका परिवारलाई लक्षित गर्दै सरकारले रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ विवरण दर्ता गरेपछि उनीहरूलाई पाँच वटा ‘होल्डिङ सेन्टर’मा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाइएको छ।

विवरण संकलनको कामबागमती सभ्यता एकीकृत विकास समितिउपत्यका विकास प्राधिकरणले समन्वयमा गरिरहेका छन्। रंगशालाको पश्चिम भागमा छुट्टाछुट्टै डेस्क राखेर फाराम भराउने काम भइरहेको छ।

यसैबीच स्वास्थ्य परीक्षण र भोजन व्यवस्थासमेत गरिएको छ, जसको समन्वयकाठमाडौं महानगरपालिकाले गरिरहेको छ।

थापाथली क्षेत्रबाट विस्थापित अधिकांश परिवार रंगशालामा आइसकेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगरबाट आउने क्रम अझै जारी रहेको छ। आइतबारयता ती क्षेत्रबाट आउनेको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ।

हालसम्म दर्ता भएकामध्ये कुन परिवार कुन स्थानबाट आएको हो भन्ने विवरण छुट्याउने काम भने बाँकी छ। दर्ता पश्चात् उनीहरूलाई विभिन्न होल्डिङ सेन्टर, होटल तथा लजहरूमा राखिएको छ।