काठमाडौँ । सरकारले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणतर्फ लैजान चार प्रमुख क्षेत्रलाई ‘विकासका इन्जिन’का रूपमा अघि सारेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक स्थिति श्वेतपत्रमार्फत ऊर्जा, कृषि–उद्योग–पर्यटनको अन्तरआबद्धता, गुणस्तरीय पर्यटन पूर्वाधार र सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई रूपान्तरणका मुख्य संवाहक क्षेत्रका रूपमा पहिचान गरिएको हो।

सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने र कुल अर्थतन्त्रको आकार करिब १०० अर्ब अमेरिकी डलर नजिक पुर्‍याउने लक्ष्य लिएको छ। यसका आधारमा नेपाललाई ससम्मान मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दीर्घकालीन योजना प्रस्तुत गरिएको छ।

ad

ऊर्जा क्षेत्रमा आगामी पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमतामा पुग्ने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरवका आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने र नयाँ रणनीतिक आयोजना अघि बढाउँदै निजी लगानीसमेत आकर्षित गरिने सरकारको योजना छ।

कृषि, उद्योग र पर्यटनबीचको सम्बन्धलाई सुदृढ गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइने उल्लेख गरिएको छ। यसले उत्पादनमूलक रोजगारी सिर्जना गर्ने र आय वृद्धि गर्ने अपेक्षा गरिएको छ।

पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माण, सेवा सुधार र सहज आवागमनमार्फत रोजगारी तथा आम्दानी बढाउने लक्ष्य राखिएको छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उपयोगलाई केन्द्रमा राखेर पर्यटनको दिगो विकास गर्ने रणनीति अघि सारिएको छ।

त्यस्तै, सूचना प्रविधि र डिजिटल अर्थतन्त्रलाई उच्च प्राथमिकतामा राख्दै कृत्रिम बौद्धिकता, रोबोटिक्स र डिजिटल सेवामार्फत उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात वृद्धि गर्ने योजना छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान आर्थिक सूचकहरू चुनौतीपूर्ण रहेको स्वीकार गर्दै सुधारका लागि बहुआयामिक अवसरहरू पहिचान गरिएको बताएका छन्। श्वेतपत्रमा आर्थिक रूपान्तरणका ११ प्रमुख अवसरसमेत औंल्याइएको छ, जसमा सुशासन, निजी लगानी, जलविद्युत्, पर्यटन, डिजिटल अर्थतन्त्र, कृषि आधुनिकीकरण, औद्योगिक विकास, सहरीकरण, विप्रेषणको उपयोग, वित्तीय क्षेत्र सुदृढीकरण र संस्थागत सुधार समावेश छन्।

सरकारले औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित यी चार क्षेत्रमार्फत दिगो र समावेशी विकासको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।