
काठमाडौं । प्रतिनिधिसभाका सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा पनि लामो समयसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेता नटुंग्याउँदा आलोचना खेपिरहेको छ । संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदम्बे र मोहन आचार्यले दाबी गरेका छन् ।
यसअघि कांग्रेसले निर्वाचन समिति नै गठन गरे पनि मनोनयन दर्ता गर्नुअघि केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा अर्की उपसभापति पुष्पा भुसाल र महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहित निर्वाचन समिति पनि रहने गरी अर्को समिति बनाइएको थियो । शर्मा नेतृत्वको समितिले हिजो शनिबार संसदीय दलको नेताका आंकक्षीहरूसँग छलफल गरेर निष्कर्ष नजिक पुगेको जनाइएको छ । समितिको छलफलमा आकांक्षी तीनैजनाले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफूहरू बाधक नबन्ने बताएका छन् । शनिबारको छलफलको निष्कर्षसहित समितिले आज आइतबार सभापति गगन थापासँग छलफल गरेर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने एक नेताले देशान्तरलाई बताए । नेपाली कांग्रेसमा ३८ जना सांसद् छन् । प्रमुख प्रतिपक्षी दल भएकाले नेपाली कांग्रेसको संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्य हुने भएकाले पनि चाँडो टुंग्याउनुपर्ने दबाब छ ।
कांग्रेस स्रोतका अनुसार दलको नेताका आकांक्षी तीनजनामध्ये एकजनालाई संसदीय दलको नेता बनाएर अन्य दुईजनालाई प्रस्तावक र समर्थक राख्ने तयारी भएको छ । यसो गर्दा जनमानसमा कांग्रेस मिलेको सन्देश जाने देखिन्छ । दलको नेतामा प्रत्यक्ष निर्वाचितलाई नै ल्याउनुपर्ने माग उठे पनि समानुपातिकबाट सांसद बनेका भीष्मराज आङ्देम्बेले बाजी मार्ने सम्भावना बढेको छ । पूर्वसंस्थापनपक्षीय नेता भए पनि उपसभापति विश्वप्रकाश शर्माको समर्थन र संसद्मा पहिलो सम्बोधनका क्रममा उनले विशेष महाधिवेशनको पक्षमा बोलेका कारण पनि दलको नेतामा उनको दाबेदारी बलियो बनेको हो ।










Facebook Comments