काठमाडौं । एमालेमा नेतृत्व परिवर्तनसहित पार्टी रूपान्तरणको बहस तीव्र रूपमा भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली तत्काल नेतृत्व छाड्ने पक्षमा नदेखिएपछि पार्टीभित्र दिन दुईगुना, रात चौगुना कलह झ्यांगिएको छ भने आफ्नै दाहिने हात मानिएका नेताहरूले नै गुट छाड्ने क्रम जारी रहेपछि ओली एक्लिँदै गएका छन् । विगतमा लामो समयदेखि ओलीलाई निसर्त साथ दिँदै आएका एमालेका प्रभावशाली नेताहरूले नै चुनावमा पार्टीको लज्जास्पद हारमा ओली जिम्मेवार रहेको दाबी गर्दै ओलीको विकल्प खोज्नुपर्नेमा दबाब बढाइरहेका छन् ।

विशेषगरी विगतमा ओलीको विश्वासपात्र मानिएका उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेता अब ओलीले नेतृत्व छाड्न ढिलाइ गर्न नहुनेमा एकमत छन् । उनीहरू अहिले पार्टीको शक्तिशाली निकाय सचिवालयमा अध्यक्षको विपक्षमा बहुमत पु¥याउने प्रयासमा जुटेका  छन् । २०८२को मंसिर अन्तिम साता भएको ११औँ महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय सचिवालयमा ओलीइतरबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र निर्वाचित भएका थिए । प्रतिनिधिसभा चुनावमा रुपन्देही क्षेत्र नं २बाट हारेपछि उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा ‘पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने’ लेखेका थिए । सोहीअनुसार उनी नेतृत्व परिवर्तनका लागि अन्य नेताहरूसँग संवाद जारी राख्दै पौडेलले सचिवालयदेखि जिल्ला तहका नेताहरूसँग छलफल गरिरहेको पनि एमालेको एक उच्चस्रोतले जानकारी दिएको छ । आफूलाई हटाउन पौडेलले लबिङ सुरु गरेपछि क्रुद्ध बन्न पुगेका ओलीले पौडेललाई पाखा लगाएर अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई आफ्नो वशमा पारेका छन् । अहिले बादल र सचिव महेश बस्नेतबाहेक अरूले ओलीको पक्षमा खुलेर बोल्ने अरू नेता छैनन् । 

ad

शिक्षण अस्पताल, महाराजगन्जमा पित्तथैलीको पत्थरीको शल्यक्रियापछि भक्तपुरको गुन्डुस्थित निवासमै आराम गरिरहेका ओलीले अहिले नेता–कार्यकर्तासँग भेटघाट तीव्र पारेका छन् । उनले आफू पूर्णरूपमा स्वस्थ भएपछि पार्टीका नियमित गतिविधिमा फर्किएर देशव्यापी रूपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने बताउँदै आएका छन् । निर्वाचनमा भएको पराजयको एमालेले हालसम्म समीक्षा गरेको छैन । चुनावी पराजयबारे केन्द्रले समीक्षा नगरी तल्लो तहबाट त्यससम्बन्धी राय मागेको छ । विभिन्न जिल्ला कमिटीले अब ओलीले नेतृत्व छाडेर पार्टीलाई रूपान्तरणसहित अघि बढाउन राय दिएका छन् ।

नेतृत्व हस्तान्तरणका लागि दबाब बढिरहँदा पनि अध्यक्ष  ओली पक्षधर केही नेताहरूले भने त्यसलाई विषयान्तर गर्न नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने चर्चा चलाएपछि एमाले तरंग उत्पन्न भइरहेकै छ । 

ओली पार्टीमा एक्लिँदै गएको अर्को उदाहरण ब्यानर तथा तुलहरूबाट ओलीको तस्बिर गायब हुनु पनि हो । एमालेले गत बुधबार पार्टी स्थापनाको ७७औँ वर्षगाँठ मनाउँदा ओलीको तस्बिर नभएको ब्यानर प्रयोग गरेपछि ओली पक्षका केही नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । २०७१ सालदेखि पार्टीका हरेक कार्यक्रममा अध्यक्ष ओलीको तस्बिरसहितका ब्यानर र तुल प्रयोग हुने गरे पनि महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत ओलीको तस्बिरबिनाको ब्यानर सार्वजनिक गरेका थिए । 

स्थापना दिवसको सन्दर्भमा अघिल्लो दिन मंगलबार एमालेले केन्द्रीय कार्यालयले एउटा पोस्टर बाहिर ल्याएको थियो । त्यसमा ओलीको तस्बिर थिएन । त्यही पोस्टर प्रयोग गरेर महासचिव पोखरेलले स्थापना दिवसको शुुभकामना दिएका थिए । जसलाई ओलीनिकटकै विष्णु रिमाल, राजन भट्टराई, शेरधन राईले पनि सेयर गरेका थिए । तर एमाले सचिव महेश बस्नेतलगायतले भने ओलीको तस्बिर राखिएको अर्को पोस्टरसहित सामाजिक सञ्जालमार्फत स्थापना दिवसको शुभकामना दिएका थिए ।