काठमाडौं । सशस्त्रको डिआइजी बढुवामा नातावाद र नेतावाद हाबी भएको पाइएको छ । झण्डै दुइ वर्ष सिनियर तीनजनालाई छुटाएर जुनियर एसएसपीद्वय राजेश उप्रेती र नेत्र कार्कीलाई डिआइजी बढुवाका लागि सिफारिस गरिएको छ ।

२३ महिना सिनियर डीआईजी बढुवा सिफारिसमा सिनियर ब्याचका कमल तिउसिना, भूपेन्द्र केसी र निरकृष्ण अधिकारी छुटाइएका छन् । 

ad

मेरिटका आधारमा बढुवा गर्ने, काखापाखा नगर्ने दाबी गर्दैआएको रास्वपा सरकारले गरेको पहिलो बढुवामै २३ महिना जुनियर एसएसपी सिफारिस गरिएको छ । यसले रास्वपा पनि मेरिटका आधारमा होइन, नेताहरुसँगको पहुँचका आधारमा बढुवा गर्छ भन्ने सन्देश गएको छ ।

एसएसपीद्वय उप्रेती र कार्की संगठनको चेन अफ कमाण्ड नै उल्लंघन गर्दै सिंहदरबार गएको र शक्तिकेन्द्रमार्फत् डीआईजी बढुवामा चलखेल गरेको समाचार केही समयपहिले नै मिडियामा भएको थियो ।

सिंहदरबारभित्र उनीहरुको प्रवेश र भेटघाटलाई लिएर सशस्त्र प्रहरी बलभित्रै गम्भीर प्रश्न उठ्नेगरी घटनाक्रम सार्वजनिक भएको थियो ।

सशस्त्र प्रहरी बलभित्र बाह्य व्यक्तिसँग भेटघाट गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट कार्यविधि छ । उक्त कार्यविधिबिपरीत उप्रेती र कार्कीले राजनीतिक नेताहरुसँग भेटघाट गरी डीआईजी बढुवा रोकाएका थिए । कुनै पनि कर्मचारीले बाह्य व्यक्तिसँग भेट गर्नुअघि सम्बन्धित विवरण, उद्देश्य र समय खुलाएर स्वीकृति लिनुपर्ने हुन्छ । तर, पछिल्लो समय केही अधिकारीहरूले यही कार्यविधिलाई बेवास्ता गर्दै सिंहदरबारभित्रै प्रवेश गरी बाह्य व्यक्तिसँग गोप्य भेटघाट गर्ने गरेको सूचना पाएपछि हल्चोक चनाखो बनेको थियो ।

एसएसपी राजेश उप्रेती बिगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता देखाएर लिनुसम्म अवसर लिएका र अकूत सम्पत्ति आर्जन गर्नेभित्र पर्दछन् । ओलीको पालामा झापा घर हुने र लाभ लिनेमध्ये उप्रेती अग्रपंक्तिमा पर्दछन् । रास्वपा सरकारमा पनि उनी नेता मनिष झाको प्रियपात्र भएर २३ महिना जुनियर भए पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।