काठमाडौं । पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारका क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै छानबिन समितिले संलग्न चिकित्सकमाथि कारबाही सिफारिस गरेको छ।

नेपाल मेडिकल काउन्सिलले गठन गरेको समितिले शनिबार सार्वजनिक गरेको २६ पृष्ठीय प्रतिवेदनमा उपचार प्रक्रियामा गम्भीर त्रुटि भएको उल्लेख गरिएको छ। सोही आधारमा समितिले डा. शतिस रुपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बन अवधिमा उनले चिकित्सकीय सेवा दिन पाउने छैनन्।

ad

समितिले घटनामा संलग्न जोनल हेल्थ क्लिनिक र इन्दुलेखा स्वास्थ्य क्लिनिक लाई समेत बन्द गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको जनाएको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार उक्त घटनाले स्वास्थ्य सेवामा गम्भीर प्रश्न उठाएको छ। उनले यस्ता त्रुटि दोहोरिन नदिन काउन्सिलले कडाइका साथ अनुगमन गर्ने र अनियमितता देखिए जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे।

घटनामा संलग्न चिकित्सक रुपाखेतीसहित पाँच जनालाई मृतकका श्रीमान् प्रकाश पाण्डेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरिसकेको छ। छानबिन समिति काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा गठन गरिएको थियो।

१२ हप्ताको गर्भपतन गराउने क्रममा गीता पाण्डेको गत आइतबार मृत्यु भएको हो। परिवारका अनुसार भ्रूणमा समस्या देखिएको भन्दै विभिन्न स्वास्थ्य संस्थामा उपचारपछि गर्भपतन गराउने क्रममा उनको ज्यान गएको थियो।

छानबिन प्रतिवेदन सार्वजनिक भएपछि परिवारले शव बुझेको छ भने दोषीमाथि कानुनी कारबाही गर्न पीडित पक्षले माग जारी राखेको छ।