काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित मनोहरा टोलमा सुकुम्वासी बस्ती हटाउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्। शनिबार साँझ घरटहरा हटाउने क्रममा डोजरसहित पुगेको टोलीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको हो।

ढुंगामुढाका क्रममा चार जना प्रहरी घाइते भएका छन्। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार अवरोध र आक्रमणपछि सुरक्षाकर्मीले थप क्षति हुन नदिन पछि हट्ने निर्णय लिएका थिए।

ad

बस्ती खाली गराउने अभियानअन्तर्गत शनिबार नै थापाथली र गैरीगाउँका सुकुम्वासी बस्ती हटाइसकिएको थियो। सोही क्रममा मनोहरामा पनि डोजरसहितको टोली परिचालन गरिएको थियो। तर स्थानीयको प्रतिरोधका कारण कार्य रोकिएको छ।

घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने स्थिति सामान्य बनाउन सम्बन्धित निकायबीच छलफल भइरहेको जनाइएको छ।