काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि सानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले ३७ रनले विजय हासिल गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमै समेटियो। युएईका हरप्रीत सिंहले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वसीमले ३४ रनको योगदान दिए। तर नेपाली बलरहरूको अनुशासित प्रदर्शनका अगाडि उनीहरूको प्रयास पर्याप्त हुन सकेन।

ad

नेपालको जितमा करण केसी नायक बने। उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो। सुरुआत कमजोर रहे पनि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै ९० बलमा ५ चौका र २ छक्कासहित ७५ रन बनाए।

नेपालका अन्य ब्याट्सम्यानमध्ये कुशल भुर्तेलले २४, बसिर अहमदले २० र करण केसीले २२ रन जोडे। भीम सार्कीले १० रन बनाउँदा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रनको योगदान दिए। प्रारम्भिक झट्का बेहोर्दै आसिफ शेख ७ रन र कप्तान रोहित पौडेल २ रनमै आउट भएका थिए।

बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान ३–३ विकेट लिए।

यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थिति मजबुत बनाएको छ। अब नेपालले वैशाख १४ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ।